दफा २३
मूल्य अभिवृद्धि कर र भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियत
यस ऐन बमोजिम दर्ता भएको उद्योगलाई देहाय बमोजिमको मूल्य अभिवृद्धि कर र भन्सार महसुल छुट दिइनेछः–
(क) मुलुकभित्र उत्पादित वस्तु विदेशमा निर्यात गरेमा विदेशमा निर्यात गरेको परिमाणको आधारमा त्यस्तो उत्पादनमा लागेको मूल्य अभिवृद्धि कर त्यस्तो उत्पादन गर्ने उद्योगलाई फिर्ता दिइनेछ ।
(ख) बण्डेड वेयर हाउस वा नगद धरौटी (पासबुक) को सुविधा नलिएका उद्योगहरुले निर्यात गरेको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको समदर निर्धारण गरी ड्युटी ड्र ब्याकको रकम फिर्ता गरिनेछ ।
(ग) बण्डेड वेयर हाउसको इजाजत नलिएका उद्योगहरूले आफ्ना उत्पादन प्रतीतपत्रको माध्यमद्वारा वा प्रचलित बैकिङ्ग प्रणालीको माध्यमबाट निर्यात गर्ने वा परिवत्र्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ र नेपालमा उत्पादन नहुने प्याकेजिङ्ग सामग्री समेत आयात गर्दा लाग्ने भन्सार महसुल तोकिएको शर्त र कार्यविधिको अधीनमा रही धरौटी राखी आयात गर्न पाउनेछ ।
(घ) खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा उत्पादन नहुने प्याकेजिङ्ग सामग्रीको हकमा विभागले नेपालमा उत्पादन नहुने भनी प्रमाणित गरी सुविधा दिन सिफारिस गरेमा मात्र त्यस्तो उद्योगले खण्ड (ग) बमोजिमको सुविधा पाउनेछ ।
(ङ) कुनै उद्योगले आफ्नो उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्रीमा लाग्ने भन्सार महसुल सामान्यतः त्यस्तो कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको आयातमा लाग्ने भन्सार दर भन्दा एक तह कम हुनेछ ।
(च) उद्योगले आफ्नो व्यावसायिक प्रयोजनको लागि आयात गर्ने मेसिनरी, ट्रान्सफर्मर, दश किलोवाट वा सोभन्दा बढी क्षमताको जेनेरेटर र औद्योगिक उपकरणमा न्यूनतम दरमा भन्सार महसुल लाग्नेछ ।
(छ) गुणस्तर मापन गर्ने प्रयोगशालाले गुणस्तर मापन गर्ने प्रयोजनका लागि आयात गर्ने मेशिनरी तथा वैज्ञानिक उपकरण र उद्योगले अनुसन्धान तथा विकासको लागि आयात गर्ने मेशिनरी तथा उपकरणमा न्यूनतम दरमा भन्सार महसुल लाग्नेछ ।